खेतमा लुकाइएको ११० किलो चरेस बरामद - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , » खेतमा लुकाइएको ११० किलो चरेस बरामद

खेतमा लुकाइएको ११० किलो चरेस बरामद

Written By नवराज "अटल" on Thursday, March 13, 2014 | 3:22 PM

वीरगन्ज, २९ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले लालपर्सा गाविसबाट आज ११० किलो प्रतिबन्धित लागुऔषध चरेश बरामद गरेको छ ।
उक्त गाविसमा चरेश लुकाएर भण्डारण गरिएको भनी प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोलीले सो गाविस–७ स्थित एउटा खेतमा परालभित्र लुकाई राखिएको अवस्थामा ११० किलोग्राम चरेश बेवारिसे अवस्थामा बरामद गरेको हो ।
बरामद गरिएको चरेश कसले र किन लुकाएर राखेको हो भन्नेबारे अनुसन्धान थालिएको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताउनुभयो ।
यसैगरी, वडा प्रहरी कार्यालय श्रीपुरले १६० लिटर घरेलु मदिरासहित दुई जना महिलालाई गएराति वीरगन्ज उपमहानगरपालिका–१६ श्रीपुरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर बासामडी–१ का कान्छीमाया लामा र माया लामा रहेका छन् । सिटी राइट बसमा लुकाएर ल्याइँदै गर्दा प्रहरीले उक्त परिमाणको मदिरासहित ती दुवै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका मदिरासहित दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय वीरगन्जमा पठाइएको छ ।
यसैबीच, सिरहाको जमदह र मुक्सार गाविसको सीमा गागन खोलामा आज बिहान १ः३० बजेतिर गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ ।
प्रतिबन्धित लागुऔषध गाँजा बोकेर भारततर्फ बेच्न लैजाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा गाँजा तस्करको नाका ढुकेर बसेका सशस्त्र प्रहरी र तस्करबीच गोली हानाहान भएको गोलबजारस्थित सशस्त्र प्रहरी बल बेस क्याम्पका प्रमुख प्रहरी निरीक्षक लीलाबहादुर कार्कीले जानकारी दिनुभयो ।
गाँजा बोकेर आइरहेको तस्करलाई अगाडिबाट घेरा हालेपछि पछाडि रहेका तस्करले एक राउन्ड नलकटुवा पड्काएका थिए । त्यसको जवाफमा आफूहरुले पनि दुई पटक गोली चलाएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
गोली हानाहानमा मानवीय क्षति नभएको जनाइएको छ । प्रहरीले जवाफी प्रहारपछि तस्करहरु गाँजा छोडेर भागेका थिए । तस्कर भागेपछि घटनास्थल क्षेत्रमा खोजतलास गर्दा एक थान नलकटुवा, त्यसमा लाग्ने एक थान गोली र आठ किलोग्राम गाँजा फेला परेको बताइएको छ । तस्कर भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
रातिको समय भएकाले तस्करको खोजी गर्न नसकिएको निरीक्षक कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच जनाको सङ्ख्यामा रहेका तस्करमध्ये अगाडि आउनेलाई छेक्यौँ । पछाडिबाट आउने फायर गर्दै भागे ।” पछाडि रहेका तस्करले भने आफूसँगै गाँजा बोकेर भागेको हुनसक्ने कार्कीले उल्लेख गर्नुभयो ।
यो वर्ष जिल्ला प्रहरी कार्यालय सिरहाले चलाएको गाँजा फँडानी अभियानअन्तर्गत जिल्लाका विभिन्न गाविसमा २२ बिघाभन्दा बढी जमिनमा लगाइएको गाँजा फँडानी गरेको थियो । रासस
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi