अहिले धेरै नेपाली गाउँ पहिलाजस्तो छैन । गाउँमा बस्ने युवाको सोच पुरातन गाउँले छैन । गाउँका युवाको सोच र सपना दुबै सहरियाभन्दा कम छैन । उनीहरु पनि आधुनिक जीवनशैली र आयआर्जन गर्न चाहन्छन् । त्यही भएर त अचेल धेरै गाउँमा विदेश र सहरबाट फर्किएर व्यवसाय गर्नेहरु बढिरहेका छन् । गाउँमै बसेकाहरु पनि सहर नपसी त्यहीँ उद्यम गर्ने जाँगर देखाइरहेका छन् ।
अचेलका युवा पुस्तामा आधुनिक उद्यम गर्न रुचाउँछन् । ग्रामीण वस्ती पनि सहरीकरणतर्फ उन्मुख भइरहेकोले गाउँमै रमाउन चाहने युवा पुस्ता बढ्दो छ । आफ्नै पुर्खाको सम्पत्तिमा मस्ती गर्नुभन्दा स्वआर्जनमा रमाउने पंक्ति बढी छ । आफ्नै पौरखले रोजगारी खोज्ने, व्यवसाय रोज्ने अनि सम्पत्ति आर्जन गर्नुपर्छ भन्ने सोच अहिलेको पुस्तामा आएको छ, जुन उनीहरुको व्यक्तिगत विकासमा लाभप्रद पक्कै हो । मुलुकको सर्वाङ्िगण विकासमा पनि यस्तो सोचको योगदान पुग्दछ ।
नेपालमा धेरै समय सामन्तवादले राज गर्यो । सामन्तवादको वर्गहरु खडा भए अनि जमीन र व्यवसाय दुबैमा सामन्तवाद हावी भए । उत्पादनका साधनमा सीमित वर्गको हालीमुहाली भयो । सामन्तवादले पुँजीभन्दा प्रतिष्ठाप्रधान सामाजको सिर्जना गरेको थियो । फलस्वरुप, गरिखान खोज्ने तर सामाजिक प्रतिष्ठा र स्थायी पुँजी नभएको वर्ग बहिष्करणमा परे ।
केही दशकयता नेपालमा पुँजीवादको प्रभाव पनि बढ्दै गएको छ । यसले मुलुकको भौतिक विकासमा प्रभाव त पारे पनि आन्तरिक उत्पादनका साधनहरु विस्तार नहुँदा परनिर्भरता बढाउँदै लगेको छ । मुलुकको कूल बजेटभन्दा बढी आयात हुन थालेको छ । हामीले हरेक छाकमा विदेशी वस्तुको कृपा आवश्यक भएको छ । आफ्नै खेत खलियान बाँझो राखेर बजारमा तरकारी किनेर ल्याउने संस्कार बढ्दो छ । आत्मनिर्भरताभन्दा किनेर खानुमा गर्व गर्ने सोच हावी भएको छ । खाद्यवस्तुको कहालीलाग्दो आयातले पक्कै खुसीको सिर्जना गरेको छैन ।
तर, केही वर्षयता, हाम्रा गाउँ र सहरका कुना कुनामा युवा उद्यमीहरुको संख्या बढिरहेको छ । तर उनीहरुलाई उत्साहलाई सम्मान अझै हुन सकेको छैन । युवाहरु जागीरभन्दा पनि स्वउद्यममा रमाउन खोजेका छन् । तर उनीहरुको लागि राज्यले खासै प्राथमिकता दिएको छैन ।
धेरै युवाहरु परिवारको सम्पत्तिभन्दा आफ्नै आर्जनमा उद्यम गर्न खोजेका छन् । तर उनीहरुको सीप, दक्षता र आत्मविश्वास भएपनि बैंकहरुले ऋण दिन खोज्दैन । हाम्रा बैंकहरु अझै पनि परियोजनाभन्दा धितो आधारित लगानी गर्न खोज्दछ । धन हुनेसित मन हुँदैन, मन हुनेसित धन हुँदैन । बैंकहरुले यो कुरा बुझेको छैन ।
त्यसो त, अचेलका युवा धेरैले उद्यम चलाउन सक्ने अध्ययन गरेका छन् । अध्ययन नगरेपनि उनीहरुले देखेर वा अरुकोमा काम गरेर पनि दक्षता हासिल गरेका छन् । तर राज्यले उनीहरुको ज्ञान, सीप र आत्मविश्वासलाई एकत्रित गर्न चासो राखेको छैन । विदेशबाट सीप र परिश्रम दुबैको ज्ञान लिएर आउने हजारौं युवा छन् । उनीहरु यहीं गरीखान खोजेका छन् । तर विदेशबाट फर्किएकाहरुको सीपलाई राज्यले वेवास्ता गरेको छ । विप्रेषण नै पुँजी हो भन्ने दासताबाट राज्यसोच मुक्त भएको छैन ।
अर्को कुरा, हजारौं युवाहरु गाउँमा कृषि उद्यम गर्न तम्सिरहेका छन् । तर उनीहरुले उत्पादन गरेको वस्तु बजारीकरण तथा लगानी सुरक्षाको लागि खासै पहल भएको छैन । राज्य तथा गैह्रसरकारी निकायको लगानी पनि उत्पादनमा मात्र बढी केन्दि्रत छ । अहिलेको जमाना उत्पादनभन्दा प्रशोधन, विविधीकरण र बजारीकरणको हो । हामीले यसतर्फ ध्यान दिनु पहिलो आवश्यकता हो ।
यसरी उद्यमशीलतामा होमिदै गरेका हाम्रो युवा पुस्ताको उत्साहलाई संस्थागत गर्ने र उनीहरुको अभियान निरन्तरतामा ध्यान दिनु जरुरी भइसकेको छ । उनीहरुको सीप र लगाव दुबै राज्यको स्थायी पुँजी हुन् । उनीहरुलाई विदेश लखेटेरभन्दा उनीहरुको यही पुँजीको अभिवृद्धि देशको लागि श्रेयस्कर हुन्छ ।
No comments:
Post a Comment