लालीगुराँस फुलेसँगै आन्तरिक पर्यटकको चाप बढ्यो - www.supremenewsnepal.com
Headlines News :
Watch Nepal Television Live
Widget by: www.smritisangraha.com Developed by: Smritirogi

News Ticker

Home » , , » लालीगुराँस फुलेसँगै आन्तरिक पर्यटकको चाप बढ्यो

लालीगुराँस फुलेसँगै आन्तरिक पर्यटकको चाप बढ्यो

Written By नवराज "अटल" on Tuesday, March 4, 2014 | 11:58 AM


काठमाडौं, २० फागुन । फागुनको पहिलो सातासँगै गुराँस फुल्न थालेपछि काठमाडौँ दक्षिणभेगस्थित चम्पादेवीमा आन्तरिक पर्यटकको चाप बढेको छ । दुई हजार २५० मिटर उचाइको अत्यन्त रमणीय चम्पादेवी डाँडाभरि नै गुराँस ढकमक्क ढाकिन थालेपछि यो क्षेत्र अहिले पर्यटकको निकै आकर्षक स्थल बनेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत नाङ्गो आँखाले अवलोकन गर्न सकिने चम्पादेवीमा अत्यधिक रुपमा लालीगुराँस रहेका कारण यो याममा चम्पादेवी क्षेत्र निकै रमाइलो हुने गरेको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले बताउनुभयो ।

फागुन महिना सुरु भएसँगै गुराँस पनि फुल्न थालेपछि विशेषगरी बिदाको समयमा आन्तरिक पर्यटक अत्यधिक रुपमा चम्पादेवीमा आउन थालेको उहाँले बताउनुभयो ।
विगतमा प्रचारप्रसार हुन नसक्दा बाह्य पर्यटकलाई गुराँसमय चम्पादेवी क्षेत्रको अवलोकन गराउन नसकिएको बताउँदै तामाङले राम्रो प्रचार हुन सके फागुन चैत महिनाको समयमा विदेशी पर्यटकलाई समेत चम्पादेवीमा आकर्षित गराउन सकिने उहाँको भनाइ छ । यहाँ लालीगुराँसका साथै अन्य विभिन्न जातका गुराँससमेत पाइन्छ ।

यसैबीच चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाको सक्रियतामा यहाँ चम्पादेवीको मन्दिर निर्माण गरिने भएको छ ।मन्दिर निर्माणका लागि मन्दिर निर्माण समितिसमेत गठन गरी त्यसको तयारी भइरहेको निर्माण समितिका अध्यक्षसमेत रहेका तामाङले जानकारी गराउनुभयो ।

उहाँका अनुसार मन्दिर निर्माणका लागि अनुमानित रु २७ लाखको लागत अनुमान रहेको र अर्थ सङ्कलनका लागि आवश्यक काम भइरहेको छ ।चम्पादेवीमा प्रत्येक वर्ष वैशाख १ गते विशेष मेला लाग्ने प्राचीन प्रचलनका आधारमा त्यस दिन अत्यधिक सङ्ख्यामा दर्शनार्थीले चम्पादेवी माताको दर्शन गर्ने कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजका सचिव वीरेन्द्र शाक्यले बताउनुभयो । वैशाख १ गते चम्पादेवीको दर्शन गरेमा वर्षभरि मनले चिताएको पुग्ने प्राचीन जनविश्वास रहेको छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुरलगायतका स्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै विभिन्न हिम शृङ्खलाको एकसाथ अवलोकन गर्न सकिने चम्पादेवी काठमाडौँ उपत्यका आसपासको अद्वितीय पर्यटकीयस्थल भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको शाक्यले बताउनुभयो ।
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2012. www.supremenewsnepal.com - All Rights Reserved
Template Bloggerized by: Smritirogi