दाङ, १८ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले औद्योगिक विकास नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले आइतबार गरेको स्वागत तथा भेटघाट कार्यक्रममा नेता देउवाले नेपालमा पर्यटन, जलविद्युत्लगायतको प्रसस्त सम्भावना रहेकाले त्यसको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिला त देशको नियम कानुन बन्नु आवश्यक छ, त्यसका लागि समयमै संविधान निर्माण हुन जरुरी छ, त्यसपछि उद्योगी व्यापारी तथा सबै क्षेत्रको विकास हुनेछ ।”
सो अवसरमा उद्योगी व्यापारीहरूले नेता देउवा र यस क्षेत्रका सभासद्सँग दाङको समग्र विकासका लागि पहल गर्न आग्रह गरेका थिए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य दीपेन्द्रकुमार खत्रीले तुलसीपुरमा रहेको विमानस्थलको स्तरवृद्धि, इन्धन डिपो स्थापना, अञ्चल अस्पतालको विकास र तुलसीपुरमा नापी र मालपोत शाखाको स्थापनामा पहल गरिदिन आग्रह गर्नुभएको थियो ।
सहमति नभए एक वर्षमा संविधान निर्माण हुन नसक्ने
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले ठूला दलहरूबीच सहमति नभए एक वर्षमा संविधान निर्माण हुन नसक्ने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले संविधान निर्माण गर्ने हो भने नेकपा(एमाले) र एकीकृत नेकपा (माओवादी) सहमतिमा आउनुपर्ने बताउनुभयो ।
उहाँले अघिल्लो संविधानसभाले राजतन्त्रको अन्त्य र हतियार व्यवस्थापनका साथै महत्वपूर्ण काम गरेको भन्दै त्यसको पनि स्वामित्व ग्रहण गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
सो कार्यक्रममा नेकाँ केन्द्रीय सदस्य एवम् सभासद् दीपक गिरीले सबै दललाई सहमतिमा ल्याई संविधान निर्माण गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताउनुभयो ।
No comments:
Post a Comment